Galkot

प्रकाश थापा

सहायक वन अधिकृत
जिल्ला वन कार्यालय, बाग्लुङ

विश्वव्यापी रुपमा पर्यटन व्यवसाय धुँवा रहित व्यवसायका रुपमा चिरपरिचित छ । विश्वका विभिन्न मुलुकहरु मध्ये नेपाल पर्यटन व्यवसायका लागि उत्कृष्ट गन्तव्य हो । यही उत्कृष्ट गन्तव्य नेपालको पश्चिमी जिल्ला बागलुङको पुरानो मुकाम गलकोट पर्यटकीय संभावनाले भरिपूर्ण छ ।

बागलुङ जिल्लाको मुटु गलकोट क्षेत्र आफ्नै पहिचान बोकेको सोह्र गाविसको संगम हो । ऐतिहासिक, धार्मिक, साँस्कृतिक र प्राकृतिक रुपमा भरिपूर्ण यस क्षेत्र पर्यटकको लागि आर्कषक छ । तर उचित पर्यटन विकासका पूर्वाधारहरुले गर्दा गलकोटमा पर्यटन त्यति फस्टाउन सकेको छैन । पर्यटकीय विकासका लागि चार वटा तत्वहरु अति आवश्यक मानिन्छन् । यी चार तत्वहरु हुन् – क. आकर्षण ख. सेवा सुविधा ग. पहँुच÷यातायात घ. गासवास ।

गलकोटमा पर्यटन व्यवसायका लागि चाहिने आधारभूत तत्व आकर्षणका केन्द्रहरु धेरै छन्, जसले पर्यटकलाई रमाउन र झुमाउन सक्दछन् । गलकोट क्षेत्रको पहिलो आकर्षण घुम्टेको लेक हो । १०,३९३ फिट अग्लो यो लेक अत्यन्त रमणीय र मनमोहक छ । यही घुम्टेबाट गलकोट क्षेत्रका रस्तीवस्तीहरु सहजै देख्न सकिन्छ । घुम्टे लेक प्राकृतिक सौन्दर्यले पनि भरिभराउ छ । घुम्टेको जंगलमा पाइने विभिन्न किसिमका जडीबुटी, वन्यजन्तु र वनस्पतिले पर्यटनको लागि सुनमा सुगन्ध थपेका छन् । यी प्राकृतिक सम्पदाले पर्यटकलाई मज्जैले आनन्द प्रदान गर्न सक्दछन् । चैत्र वैशाखमा राताम्मे हुने लालिगुराँसको फूलले जो कोहीको पनि मन ह्वात्तै तान्दछ । घुम्टे लेकमा चढ्दा गरिने पद यात्राले पनि जो कोहीलाई पनि रोमाञ्चकारी नै बनाउँदछ । यसरी हेर्दा गलकोट क्षेत्र भित्र घुम्टेको लेक पहिलो आकर्षक केन्द्रको रुपमा आउँछ । यसै गरी गलकोटमा घुम्टे लेक जस्तै गाजाको धुरी, डुडे लेक, निलुवा लेक, गाइघाट झरना आदि अन्य प्राकृतिक गन्तव्य छन् । हरिचौरमा अवस्थित गलकोटे राजाको दरवार र हटियाको कोट मैदान गलकोट क्षेत्रका ऐतिहासिक महत्वका स्थलहरु हुन् । गलकोटका वस्तीहरुमा आफ्नै किसिमको रहनसहन छ । यस क्षेत्रको लोक संस्कृतिले सबैलाई भुलाउँदछ । यानीमाया, सालैजो, नानीलै, सोरठी, घाटु जस्ता लोक भाकाले सबैको मन तान्दछ । अर्गलको भुस पोल्ने मेला, ताराको असारे मेला, पाण्डवखानीको घाटु, मल्मको सोरठी नाच आदि गलकोटका मौलिक संस्कृति हुन् । यी संस्कृति पर्यटकीय दृष्टिकोणबाट अति उत्तम छन् । गलकोट क्षेत्रमा पर्यटन व्यवसायको लागि चाहि आकर्षणको केन्द्र विन्दुहरु प्रचुर मात्रामा छन् तर आकर्षणको केन्द्र सँगसँगै चिहिने अन्य अति आवश्यक सेवा सुविधा, यातायातको सुगमता, उपर्युक्त वासस्थान र व्यवस्थापनको कमी छ । यी असहजताले गर्दा गलकोट क्षेत्रमा पर्यटनको राम्रो विकास हुन सकिरहेको छैन् ।

पर्यटकको लागि सेवा सुविधा सरल र सहज रुपमा उपलब्ध हुनु पर्दछ । गलकोट क्षेत्रमा सेवा सुविधाको कुरा गर्ने हो भने अहिलेका वर्षहरुमा केही मात्रामा हटिया बजार र हरिचौैर बजारमा सुविधा बढेका छन् । आर्थिक कारोवारका लागि बैंक र एटिएम सेवा उपलब्ध हुन सुरु भएको छ भने इन्टरनेटको पहुँच पनि बढिरहेको छ । सबै गाउँहरुमा फोनको सेवा पनि छ । यति हुँदा हुँदै पनि पर्यटनको व्यापक विकासका लागि अन्य सेवाहरु पनि थप गर्नु पर्ने देखिन्छ । पर्यटकको लागि मनोरञ्जनको सुविधा, अवलोकन गर्न भ्यु टावरको सुविधा, र अन्य रुचि÷आवश्यकता अनुसारका सुविधाहरु हुनु पर्दछ । पर्यटकीय स्थलहरुको जानकारीका लागी गलकोट क्षेत्रको पर्यटकीय नक्सा र ठाउँ ठाउँमा महत्वपूर्ण गन्तव्य स्थलहरुको जानकारी राख्नु पर्ने देखिन्छ । यसै गरी गलकोटका महत्वपूर्ण पर्यटकीय स्थलहरुको प्रचार प्रसार सँगसँगै गलकोट स्तरीय पर्यटकीय सूचना केन्द्रको निर्माण अत्यावश्यक छ ।

पर्यटनको लागि अर्को महत्वपूर्ण तत्व भनेको यातायातको पहुँच हो । मध्य पहाडी लोक मार्गले गलकोटका दुदिलाभाटि, नरेठाँटी, हटिया, मल्म र रिघालाई छोएको छ जसले पर्यटनको संभावना अझ बढाएको छ । तर पनि यातायातको अभैm सहजता हुन भने सकेको छैन् । गलकोट क्षेत्रको सुरुवाती खण्ड बागलुङ नगर क्षेत्रको सडक अवस्था बेहाल छ जसले गर्दा जो कोहीले पनि यात्रामा कठिनाई भोक्दछन् । गलकोटका विकट वस्तीमा समेत धुलाम्मे मोटर बाटो पुगे पनि मोटरको सहजता भने अझै छैन् । कतिपय ठाउँमा भने नवनिर्मित मोटर बाटोले गर्दा मानव वस्तीहरु जोखिममा छन् । मानववस्तीका आधारभूत आवश्यकताहरु जस्तै खानी पानीको मूल सुक्ने समस्या बल्झीरहेका छन् । गलकोटका धेरै गाउँहरुमा अवस्थित मोटर बाटो निर्माणले एकातर्फ भूक्षय भइरहेको छ भने अर्का तर्फ लाखौंको रकम मोटर बाटो निर्माणमा लगानी खेर गइरहेको छ । पर्यटनको विकासको लागि ठाउँ अनुकूल पदमार्ग र वातावरण मैत्री मोटर बाटो निर्माण गर्नु पर्ने देखिन्छ । पर्यटन प्रवद्र्धनको लागि यात्रा सहज र सुरक्षित पनि हुनु पर्दछ ।

यी तत्व बाहेक पर्यटकको लागि सुविधायुक्त गास वासको व्यवस्था पनि नभइनहुने आवश्यकता हो । गलकोटमा अहिले होटल व्यवसाय बढि रहे पनि गुणस्तरीय होटलको भने कमी नै छ । सेवा र सत्कार अनुरुपका होटल थौरै छन् ।

पर्यटनको कुरा गरिरहँदा पर्यटकलाई चाहिने अति आवश्यक गास र वासको व्यवस्था गर्न तर्फ उन्मुख हुनु पर्ने देखिन्छ । गाउँ घरमै पनि रमाउनका लागि स्थानीय कला संस्कृतिमा आधारित होम स्टे अर्थात् घरबासको व्यवस्था गर्नु पर्ने देखिन्छ । गलकोटमा उपर्युक्त पर्यटकीय गतव्य स्थलहरु हुँदा हुँदै पनि सेवा सुविधा, पहुँच, गास वासको अभाव इत्यादि कुराले गर्दा पर्यटन व्यवसाय फस्टाउन सकिरहेको अवस्था छैन् । गलकोटका गाउँघरदेखि काठमाडौं सहरसम्म गलकोटेहरु बीच समय समयमा गलकोटमा पर्यटन विकासका अवधारणाहरु छलफलमा आउँछन तर पनि उपर्युक्त पर्यटन गुरुयोजना विना गलकोटमा पर्यटनको विकास असम्भव छ । पहिलो त गलकोट क्षेत्रको पर्यटकीय विकासका लागि पर्यटन गुरुयोजनाको निर्माण एकदमै महत्वपूर्ण छ । त्यसपछि सोही अनुरुप निश्चित वर्ष तोकी के काम कहिले गर्ने ? कस्तो ठाउँमा के बनाउने ? विप्रेषणलाई कसरी पर्यटनको विकासमा लगानी गर्ने ? पर्यटकलाई लक्षित गरी विकास निर्माणका कार्य कसरी अघि बढाउने ? गलकोट क्षेत्रको भौगोलिक सूचनालाई कसरी व्यवस्थित बनाउने ? पर्यटकलाई सूचना केन्द्रको स्थापना, पदमार्ग निर्माण लगायतका कार्यहरु सोही गुरुयोजना अनुरुप बनाउनु पर्ने देखिन्छ । उपयुक्त योजना विना गलकोट क्षेत्रमा पर्यटनको विकास संभव छैन ।

विश्वमा विभिन्न प्रकारका पर्यटन रही आएकोमा गलकोट क्षेत्रलाई हेर्दा पर्यापर्यटन (इकोटुरिजम) को मोडल अवलम्बन गर्नु उपर्युक्त देखिन्छ । पर्यापर्यटन मूल विशेषता भनेकै पर्यटकहरुको आगमन सँगसँगै प्राकृतिक वातावरणको संरक्षण र स्थानीय समुदायको आर्थिक विकास हो । पर्यापर्यटनले स्थानीय समुदायको संस्कृतिलाई सम्मान गर्दे समुदायलाई आर्थिक क्षेत्रमा फाइदा पु¥याउँछ । पर्यापर्यटनको आधारभूत सिद्घान्तहरु भनेका प्राकृतिक÷सांस्कृतिक स्रोतहरुको दिगो व्यवस्थापन, सामुदाय सहभागिता, सामाजिक तथा साँस्कृतिक दिगोपन, स्थानीयहरुमा आर्थिक फाइदा र पर्यटकहरुलाई गुणस्तरीय भ्रमणको अनुभूति हुन् । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र, कञ्चनजंघा संरक्षण क्षेत्र लगायतका विभिन्न स्थानहरुमा पर्यापर्यटन प्रवद्र्धन गरिदै आइएको छ । पर्यापर्यटनका गतिविधि अन्तरगत पदयात्रा, वन्यजन्तु अवलोकन, प्रकृति तथा साँस्कृतिक सम्पदाको अवलोकन, क्याम्पिङ, माछा मार्ने, पौडी खेल्ने, होम स्टे आदि पर्दछन् । यसको प्रचुर सम्भावना गलकोटमा छ । यसको प्रवद्र्घन गर्न सकेको खण्डमा विप्रेषणको उपयोग र वैदेशीक रोजगारी विकल्प गलकोट हुन सक्छ । गलकोटका ग्रामीण वस्तीहरुमा अहिलेका दिनहरुमा होम स्टे अर्थात् घरबासको अवधारणा अघि सार्नु अति आवश्यक देखिन्छ । पर्यटकहरु आफ्नो घर झै गरी पारिवारको सदस्य सरह स्थानीय कला संस्कृतिको सम्मान गर्दै गाउँघरको उत्पादन उपयोग गरी घरमा बस्ने कुरालाई होम स्टे अर्थात् घरबासले बुझाउँछ । होम स्टेले स्थानीय कला संस्कृतिको संरक्षण हुनुका साथै आयआर्जन समेत हुन्छ ।

गलकोटमा होम स्टेको कुरा गर्दा पाण्डवखानी गाउँको मगर कला संस्कृति, घाटु नाँच लगायत अन्य लोक संस्कृति र रमाइलो वस्तीले गर्दा त्यहाँ होम स्टे प्रभावकारी हुन सक्दछ । त्यसैगरी तारा, हिल, अर्गल लगायतका गाउँहरुमा पनि होम स्टे संचालन गर्दा उपर्युक्त हुन्छ । प्रभावकारी होम स्टे हुनको लागि स्थानीय मौलिक कला, अतिथि सत्कार, स्थानीय खाद्यान्न, सेवा र मनोरम वातावरण हुन जरुरी छ ।

गलकोटमा पर्यटकीय आकर्षणका केन्द्र विन्दुहरु हुँदाहुँदै पनि उपर्युक्त गासवास, सेवा सुविधा, पहुँच, प्रचारको अभावले गर्दा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ पर्न सकिरहेको छैन् । पर्यटनको अग्र गतिको लागि सेवा सुविधामा विस्तार, लगानीको वातावरण निर्माण, प्रचार प्रसार र यात्राको सहज व्यवस्था गर्न जरुरी छ । यसका लागि समय मै गलकोटको पर्यटन विकासका लागि तत्कालै गलकोट पर्यटन गुरुयोजना तयार गरी लागू गर्ने जमर्को गर्नु पर्दछ । यसै गरी सूचना प्रवाहको लागि गलकोट स्तरीय पर्यटक सूचना केन्द्र र गलकोट स्तरीय पर्यटकीय नक्सा निर्माण गर्नु पर्दछ । पर्यापर्यटनलाई जोड दिंदै ठाउँ ठाउँमा होम स्टे सञ्चालन पनि गर्नुपर्ने देखिन्छ ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्र, गलकोट विगतदेखि नै गलकोटमा पर्यटन विकासको वातावरण तयार पारेको छ । तर यसको गतिलाई तीव्र पार्न आम सरोकारवाला सम्पूर्ण गलकोटवासीहरुले आफ्नो सक्रियतालाई बढाउँदै पर्यटन विकास गरी आर्थिक समृद्घि तर्फ लाग्नु पर्ने बेला भइसकेको छ । गलकोटलाई पर्यटकको प्रतिक्षामा रहिरहने नपारौं । अब तपाई हामी आआफ्नो स्थानबाट गलकोटको पर्यटन विकासमा जुटौं । गलकोटलाई पर्यटकीय केन्द्र बनाउने अभिभारा हामी सबैको हो । यसमा राज्यको पनि सहयोग चाहिन्छ । नीति निर्माता र सामाजिक अगुवाहरुको ध्यान त्यतातर्फ पनि जाओस् । जय गलकोट । जय जन्मभुमि ।