दुर्गा बहादुर खत्री

यतिबेला देशलाई स्थानीय निकायको चुनाबले पुरै छोपेको छ । चुनावी प्रचारप्रसारमा गाउँ देखी शहरसम्म बिभिन्न दलका झण्डा बोकेर घरदैलो अभियानमा जुट्नेहरुको झुण्डहरु बाक्लै देख्न सकिन्छ । प्राय गाउँहरुमा यो या त्यो नामका चुनावी नारा लिएर आँगनमा पुगेका दलका कार्यकर्ताहरु बृद्ध बुबाआमालाई आफ्नो चुनाब चिन्ह चिनाउनु र आफ्नो पक्षमा भोट पार्न दलका झण्डा लिएर घरदैलो अभियानमा पछि पछि लागेर हिडेका छन भने यता परदेसमा म जस्ता ६० लाख युवाहरु गाउँको बिकाश र संबृद्धीको परिकल्पना गर्दै आफ्नो गाउँ ठाउँको राजनिती र स्थानीय नेताहरुलाई नजिकबाट नियालिरहेका छन ।


पङ्तिकार गलकोट नगरपालिकाको स्थायी बासीन्दा भएको नाताले गलकोट नगरको चुनाबमै केन्द्रित भई यो लेख लेख्दैछ । यसै प्रसङ्गमा २०६५/६६ मा गलकोटबाट काठमाण्डौमा अध्ययन गर्दै गरेका तत्कालिन समयमा अध्ययन सँगै एकीकृत भएका गलकोटे बिध्धार्थीहरु बिभिन्न क्याम्पसका सभाहलहरुमा एकिकृत भई आर्थिक संम्बृद्धी सहितको समुन्नत गलकोटको खाका कोर्न र बहस गर्नमा समय ख़र्चिने गर्दथे । हाल बिभिन्न क्षेत्रमा अनुभव र बिज्ञता हासिल गर्दै आ-आफ्नै पेशा ब्यवशाय र बैदेशिक रोज़गार तथा अध्ययन शिलशिलामा बिश्वभर छरिएर रहेका छन तर जो हालसम्म प्रतक्ष्य राजनितीमा जोड़िएका छैनन । उनीहरुलाई अहिलेको चुनाबले कुनै न कुनै हिसाबले छोएको छ र छुनुपनि पर्छ भन्ने लेखकको ब्यतिगत बिचार हो ।


अहिले देश, काल र परिस्थितिले कोल्टो फेरिसकेको छ । लामो समयको द्वन्द, अस्थिरता र संक्रमणकाल पछि नेपालले २५ बर्षमा बल्ल बल्ल स्थानीय तहमा जनप्रतिनिधीहरु चुन्ने अवसर पाएको छ । अब विकास, सुशासन र रोजगारीका लागि पार्टी वा उमेदवार चुन्ने विषयमा परम्परागत सोचमा क्रमभङ्ग गर्नैपर्छ । त्यसैका लागी पनि यसपालीको निर्वाचनमा राजनैतिक दलमा आबद्ध नभएका २५ देखी ३५ बर्ष समुह उमेरका युवाहरुले चुनाब सम्मका लागी मात्र भएपनि सक्रियता देखाउनु ज़रूरी छ ।


कामको आधारमा नभएर आस्थाको आधारमा हामीले पार्टीहरूलाई आँखा चिम्लेर समर्थन गरिरह्यौँ । विगत २८ वर्षमा प्रायः सबै पार्टी एक न एक पटक सत्तामा रहे । आफ्नो देशको विकास छिमेकी मुलुकबाट गराउन तल्लीन भए । स्थानिय स्तरमा बजेट निकाशा भएपछि आफ्नो क्षेत्रमा बजेट पार्ने र बिकासका बजेट सिघ्याउने कामलाई मात्र राजनीतिक कर्मका रुपमा बुझे । आफ्नो स्थानिय स्तरमा रहेका श्रोत साधनको परिचालन र गलकोटे जनताको क्षमतालाई अवमूल्यन गरिरहे । जसले गर्दा योग्यले कहिल्यै स्थान पाएनन। सरकारी संयन्त्रलाई पुरै बेवास्था गरियो । द्धन्दककालमा बाँकी रहेका संयन्त्र पनि यो १० बर्षको संक्रमणकालमा झन काम नलाग्ने गराईयो । गाउँ गाउँमा रहेका शिक्षा स्वास्थ्य जस्ता आधारभूत पुर्वाधारको ब्यवस्थापनमा यति सम्म यतिसम्म बेवास्ता गरियो कि जसले सरकारी बजेटको चरम दुरुपयोग भैरह्यो । गाउँका टोलटोलमा रहेका आधारभूत स्कुलहरुका शिक्षकहरु बिध्घार्थी अभावको बहानामा दिनभर धाम तापेर दिन कटाईरहे जसको फलस्वरूप शिक्षामा ब्यापारीकरण मौलाउदै गयो। कथित बिकट बनाइएका गलकोटका गाउँ गाउँबाट बजार र शहरहरुमा बसाईसराई दर बढ़्न गई गाउँका खेतीयोग्य जमिनहरु चउरमा परिणत हुँदैगए । दिनानुदिन फ़ाँट र खेतीयोग्य जमिन प्लटिङ गर्नमा भु-दलालीहरु मौलाउँदै गए । उच्च शिक्षाका लागी शहर पसेका युवाहरु गाउँ फर्कने अवस्था रहेन । शहरमा रोज़गारी र ब्यवशायमा अवसर पाएकाहरुलाई गाउँ फर्कने आँट गरेनन । देशमा सम्भावना नदेख्नेहरु बिदेस पलायन भए । गलकोटका यही २५-३५ समुहका युवाहरु राजनीतिकों जोड घटाउबाट किन टाढा छन भन्ने बुझ्नका लागी यी उदाहरण मात्र पर्याप्त हुन ।


राजनैतिक दलका झन्डा नबोकेकाहरु बिभिन्न क्षेत्रमा सक्षम युवाहरु उनीहरुले यसपटकलाई आफ्नो गाउँ र क्षेत्रका उमेदवारलाई भोट दिने प्रक्रियालाई एकछिन आफ्नो कम्पनीको कर्मचारी छनोट प्रक्रियाको अन्र्तवार्तासँग दाँजेर हेर्न जरुर छ जसरी तपाईहरुले आफ्नो कम्पनीलाई सही दृष्टिकोण, समूहमा काम गर्ने क्षमता भएको, राम्रो अनुभव, र विगतमा सिर्जनशील काममा लागेको व्यक्तिलाई छान्नुहुन्छ ठ्याक्कै यस्तै मापदण्डलाई आधार बनाएर यसपालीको स्थानिय निर्वाचनमा मतदान गर्नु र आफ्ना परिवारका सदस्यलाई पनि यो कुरामा सचेत गराउनु यी युवाको काँधमा आएको ज़िम्मेबारी हो ।


यसपालीको चुनाबले तपाई हाम्रो समाजको संम्बृद्धीलाई प्रभाव पार्छ । नगरपालिका वार्डका उमेदबारहरु द्धन्द पछि स्थानीय निकाय रिक्त रहदाँ पनि आफ्नो ब्याक्तिगत स्वार्थ भन्दा माथी उठेर आफ्नो गाउँ ठाउँको बिकास र संम्बृद्घीलाई ब्यवस्थित गर्ने काममा क्रियाशील समाजसेवीहरु नै अगाडी सारिनुलाई सकारात्मक रुपमा लिनुपर्छ तर अबको स्थानिय निकायका पदाधिकारी यस्ता हुनु जरुर छ जसले ५ बर्षपछिको समाजको स्पष्ट ख़ाका प्रस्तुत गर्न सकोस । यो छनौट अवसरका लागी आफ्नो उमेदबारले अब आफ्नो उमेदबारी मात्र घोषणा नगरी ५ बर्षे योजना पत्र घोषणा गरेमा मतदातालाई योग्य उमेदबार चुन्न सजिलो पर्थ्यो कि?!


लेखक टोकियो युनिभर्सिटी अफ इकोनोमिक्स जापानमा अध्ययनरत छन